रेडियो माडीको सहयोगमा पर्सामा स्थापित रेडियो विजयवस्तीको उद्घाटन

सामुदायिक रेडियो माडीको सहयोग एवं सहकार्यमा पर्सा जिल्लाको ग्रामिण भेग निर्मलवस्तीमा स्थापित सामुदायिक रेडियो विजयवस्ती ९०.१ मेगाहर्जले बुधबार देखि आफ्नो परीक्षण प्रशारण सुरु गरेको छ ।

सदरमुकाम वीरगंजबाट दुरदराजमा रहेको निर्मलवस्ती गा.वि.स. वडा नम्बर ७ स्थित विजयवस्तीबाट संमृद्धि र पहिचानको आवाज बोकेको मूल नारासहित रेडियोले आफ्नो परीक्षण प्रशारण सुरु गरेको हो । सामुदायिक रेडियो विजयवस्ती पर्सा जिल्लाकै ग्रामिण भेगमा रहेको पहिलो रेडियो स्टेशन समेत वन्न पुगेको छ ।

रेडियोको उद्घाटन पर्सा क्षेत्र नम्बर ५ का साँसद जयप्रकाश थारुले पानसमा वत्ती बालेर गर्नुभयो । रेडियोको उद्घाटन गर्दै सांसद थारुले विजयवस्तीका युवाहरुले देशकै चौथो अंगको रुपमा चिनिने सञ्चार गृहको स्थापना गरेर निर्मलवस्ती, ठोरी, सुवर्णपुर लगायतका गाविसलाई दुरदराजको गाविसले सम्बोधन गर्न छाडेर अब ग्रामिण भेगमा अग्रणी भूमिका निर्वाह गरेर आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभयो । सञ्चार क्षेत्रले विश्वलाई एउटा सानो वस्तीमा रुपान्तरण गर्न सफल भएको भन्दै रेडियो विजयवस्तीले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक लगायतका हरेक क्षेत्रको रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । सञ्चारको विकासले मात्र सबै क्षेत्रको विकास हुने भन्दै सांसद थारुले विजयवस्तीको युवाहरुको सक्रियताको खुलेर प्रशँसा गर्नुभयो । दुर्गम गाविसको रुपमा चिनिने निर्मलवस्तीको विजयवस्तीमा रेडियो सञ्चालनमा आउनु भनेको क्षेत्र नम्बर ५ कै तथा देशकै सञ्चार क्षेत्रमा अर्को एउटा नयाँ आयम यस रेडियोले थपेको भन्दै समाजमा भएको विसंगी तथा विकृतिहरुलाई उजागार गरेर समाज परिवर्तनमा प्रभावकारी भूमिका निर्वाह गर्न यस रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको भन्दै साँसद थारुले रेडियो सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठले विश्वको हरेक क्षेत्रमा आएको परिवर्तनमा सञ्चारकै महत्वपूर्ण भूमिका रहेको भन्दै जिल्लाको दुर्गम गाविसको रुपमा चिनिने निर्मलवस्त, ठोरी, सुवर्णपुर लगायतका गाविसको विकासमा यस रेडियोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस महासमिति सदस्य श्रेष्ठले रेडियोको स्थापना संगै यस क्षेत्रको विकास जोडिएको हुने भएकोले भोलिको दिनमा यस रेडियोले राम्रा कामको प्रशंसा र नराम्रा कामको उजागार गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपाल चेम्वर अफ कमर्श काठमाण्डौका सदस्य एवं विजयवस्तीका स्थानीय समेत रहेका अञ्जान शाक्यले विजयवस्तीका युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय कार्यको थालनी गरेको भन्दै रेडियोलाई निरन्तर दिनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । जसरी युवाहरुको सक्रियतामा रेडियो सञ्चालनमा आउन सफल भएको छ त्यसै गरी भोलिको दिनमा ठोरी, निर्मलवस्ती, सुवर्णपुर लगायतका गाविसलाई लक्षित गरी सामुदायिक अस्पताल स्थापनाका लागि पहल थाल्न युवाहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्मलवस्ती गाविसका निवर्तमान गा.वि.स. अध्यक्ष लालबहादुर श्रेष्ठले दुरदराजमा सञ्चालनमा आएको रेडियोबाट किसान, पेशाकर्मी, राजनीतिककर्मी लगायत समाजका सबै क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा लिने भन्दै सञ्चालनमा आएको रेडियोलाई निरन्तरता दिनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा निर्मलवस्ती गाविसका समाजसेवी रामबहादुर श्रेष्ठले सबै तह र तप्काबाट सहयोग जुटेकाले रेडियो सञ्चालनमा आउन सफल भएको भन्दै भोलिका दिनमा पनि सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
रेडियो स्थापनका लागि सक्रिय भूमिका निर्वाह गरेका स्थानीय युवा मुन्नाकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवाहरु जुटेमा असम्भव कार्यहरु पनि सम्भव हुने भन्दै युवाहरुलाई समाज परिवर्तनका लागि सक्रिय हुन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा रेडियोको महत्व दर्शाउँदै विजयवस्ती उच्च माविका प्र.अ. समेत रहेका नारायण लामाले समाज परिवर्तनका लागि युवा शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो विजयवस्ती एफ.एम.का अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन रेडियोका सचिव गोपीलाल श्रेष्ठले गर्नुभएको थियो । ग्रामिण भेगबाट नै रेडियोको उद्घाटन हुने थाहा पाएर ठोरी, निर्मलवस्ती, सुवर्णपुर, सेढवा लगायतका गाविसबाट कार्यक्रम स्थलमा स्थानीयहरुको भिड लागेको थियो । बुधबारबाट परीक्षण प्रशारण सुरु गरेको सामुदायिक रेडियो विजयवस्तीले विहान ६ बजेदेखि विहान १० बजे र साँझ ५ बजेदेखि राती १० बजेसम्म गरी ९ घण्टा आफ्नो परीक्षण प्रशारण गर्ने रेडियोका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै रेडियोले भविष्यमा समाचार, गीत, कृषि, लगायतका चेतना तथा सन्देश मूलक कार्यक्रम प्रस्तुत गर्ने समेत उहाँले बताउनुभयो । रेडियो स्थापना तथा त्यसको सुरुवाती सञ्चालनमा चितवनको माडीस्थित सामुदायिक रेडियो माडीले प्राबिधिक, भौतिक तथा अन्य सहयोग गरिरहेको छ ।