All posts by Community Radio Madi

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा हुने मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ६ जिल्लाका रेडियोबीच नेटवर्क बनाइएको छ । निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षको प्रभाव वा मध्यवर्ती क्षेत्रमा पर्ने भित्र पर्ने प्रसारण संस्थाको नेटवर्क गठन भएको हो ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडीको अगुवाइमा चितवन, नवलपरासी, बारा, मकवानपुर, रौतहट र पर्सा जिल्लाका २० वटा रेडियोको संलग्नतामा नेटवर्क गठन गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनले जनाएको छ । नेटवर्कमा संलग्न अन्य रेडियोमा हाल पर्सा जिल्लाको रेडियो नारायणी र रेडियो विजयवस्ती, बारा जिल्लाको रेडियो समर्पण र रेडियो आकाशवाणी, मकवानपुरको रेडियो शक्ति, नवलपरासीको रेडियो मध्यबिन्दु, ह्याप्पी एफएम, रेडियो सामर्थ्र्य, रेडियो नवलपुर र विजय एफएम तथा चितवन जिल्लाका कालिका एफएम, रेडियो त्रिवेणी, हाम्रो एफएम, रेडियो शिवशक्ति, रेडियो सम्पदा, रेडियो अर्पण र ग्रेट एफ.एम. संलग्न छन् ।

सो नेटवर्कले निकुञ्ज र आरक्षका मध्यवर्ती क्षेत्रका मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यू्नीकरण गर्ने विश्वास छ । यहाँको जैविक विविधता संरक्षण र वन एवम् वनपैदावरको संरक्षणका निम्ति रेडियो कार्यक्रम उत्पादन तथा सूचना एवम् समाचार प्रसारण गरेर द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ । नेटवर्कमा संलग्न प्रसारण संस्थासँग राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षले सहकार्य गर्ने जनाएको छ ।

भुकम्प प्रभावित विद्यार्थीहरुको आवासीय अध्यापन परियोजनाको आयोजनामा आइतबार भुकम्प सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक रेडियो माडी र दिवाकर स्मृति विद्यालयद्वारा संयुक्त रुपमा सञ्चालित सो परियोजनाद्वारा सञ्चालित कार्यक्रममा भुकम्पविद् तथा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर भुगर्भ विभाग संयोजक डा. रञ्जन दाहाल र इञ्जिनियर डा. मनिता तिमिल्सिनाले भुकम्पको कारण, असर र बच्ने उपायहरुका बिषयमा प्रशिक्षण गर्नुभएको थियो । परियोजनाका संयोजक तथा दिवाकर स्मृति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा साँसद धनिराम (डि.आर.) पौडेल, पूर्व साँसद तीर्थराज भुसाल, रेडियोका संरक्षक एवं विद्यालयका सल्लाहकार सन्देश पौडेलसंगै माडीका विभिन्न संघसंस्थामा आवद्ध एवं सरोकारवाला व्यक्तित्व तथा सर्वसाधारण माडीवासीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियो माडीका निर्देशक देव अञ्जान शाहले गर्नुभएको थियो । अन्तरक्रियात्मक तवरबाट सञ्चालित सो सचेतना कार्यक्रमका सहभागीहरुले भुकम्प र यसका विभिन्न पाटोहरुबारे जिज्ञासा राखेका थिए भने प्रशिक्षकद्वयले त्यसको जवाफ एवं जानकारी दिनुभएको थियो ।

परियोजना अन्तरगत गतबर्ष बैशाख १२ को भुकम्प तथा त्यसका पराकम्पहरुका कारण घरबार विहिन हुनुपरेका तथा अभिभावक गुमाएका सिन्धुपाल्चोक टेकानपुरका सोनाम नेपाली, काभ्रेपलाञ्चोकका अरुण तामाङ, चितवन लोथरका बिपना चेपाङ र गोरर्खा सिर्दिवासका आयुष गुरुङ्ग र सिर्जना घले आवासीय रुपमा अध्ययनरत रहेका छन् । स्वदेश एवं प्रवासमा रहेका सहयोगी व्यक्ति एवं संघसंस्थाहरुको सामुहिक सहयोगमा सो परियोजना सञ्चालनमा रहेको छ ।

माडी नगरपालिका क्षेत्रभरबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सर्बोत्कृष्ट स्थान हासिल गर्ने छात्र एवं छात्रालाई धन्खु-लालकाजी गुरुङ्ग छात्रबृत्ति प्रदान गरिने भएको छ ।

संयुक्त अधिराज्यस्थित चितवन सहयोग कोष (CAT-UK) का निवर्तमान अध्यक्ष तथा व्यवसायी कृष्ण गुरुङ्गले आफ्ना स्वर्गीय हजुरबुबा लालकाजी गुरुङ्ग र हजुरआमा धन्खु गुरुङ्गको स्मृतिमा सामुदायिक रेडियो माडी एफ.एम. १०७.६ मेगाहर्जमा स्थापना गर्नुभएको धन्खु लालकाजी अक्षयकोषमार्फत हरेक बर्ष सो छात्रवृत्ति प्रदान हुने भएको हो । भर्खरै सम्पन्न शैक्षिक बर्ष २०७२ को कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याएका छात्र एवं छात्राले समेत छात्तवृत्ति प्राप्त गर्नेछन् । सामुदायिक, संस्थागत वा गुठी सबैखालका विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरुको समस्टीगत नतीजको आधारमा सबैभन्दा धेरै प्राप्ताङ्क भएका छात्र र छात्रालाई रु ६ हजार पाँच सय रुपैंया बराबरको छात्रवृत्ति प्रदान हुने भएको हो ।

यसअघि सामुदायिक रेडियो माडीमै, माडी उपत्यका शैक्षिक अक्षय कोषका रुपमा रु पचास हजार रुपैंयाको अर्को अक्षय कोष समेत स्थापना गरिएको छ । तात्कालीन समयमा जर्मनीमा विद्याबारिधी अध्ययनरत माडी खैरहनीका डा. देव प्रसाद पाण्डे, अष्ट्रेलियामा विद्याबारिधी अध्ययनरत शोभा नेपाली र डेनमार्कमा विद्याबारिधी अध्ययनरत भानेश्वर पोखरेलको रु २०, २० र १० हजारको सुरुवाती रकमबाट स्थापित सो अक्षय कोषले माडीको शैक्षिक विकासका लागि विविध शैक्षिक क्रियाकलाप सञ्चालन तथा माडीको शैक्षिक फाँटमा क्रियाशील वा सेवानिवृत्त शिक्षाकर्मीहरुलाई सम्मान गर्ने उद्देश्य राखेको छ ।

यसैबिच, चितवन सहयोग कोष बेलायतका निवर्तमान अध्यक्ष गुरुङ्गले रेडियो माडीद्वारा सञ्चालनको तयारी गरिएको माडी सामुदायिक सुचना केन्द्र तथा विध्युतिय पुस्तकालयको सहयोगार्थ रु २० हजार रुपैंया सहयोगस्वरुप प्रदान गर्नुभएको छ । माडीको बसन्तपुर बजारमा अत्याधुनिक सुचना केन्द्र सहितको ई–लाइब्रेरी निर्माण अभियानको सुरुवातस्वरुप पारिजात सामुदायिक अध्ययन केन्द्र र गर्दी सामुदायिक पुस्तकालयसंग साझेदारी गर्दै रेडियो माडीले पुस्तकालय निर्माणको अभियान अगाडि बढाएको छ ।

सामुदायिक रेडियो माडीको सहयोग एवं सहकार्यमा पर्सा जिल्लाको ग्रामिण भेग निर्मलवस्तीमा स्थापित सामुदायिक रेडियो विजयवस्ती ९०.१ मेगाहर्जले बुधबार देखि आफ्नो परीक्षण प्रशारण सुरु गरेको छ ।

सदरमुकाम वीरगंजबाट दुरदराजमा रहेको निर्मलवस्ती गा.वि.स. वडा नम्बर ७ स्थित विजयवस्तीबाट संमृद्धि र पहिचानको आवाज बोकेको मूल नारासहित रेडियोले आफ्नो परीक्षण प्रशारण सुरु गरेको हो । सामुदायिक रेडियो विजयवस्ती पर्सा जिल्लाकै ग्रामिण भेगमा रहेको पहिलो रेडियो स्टेशन समेत वन्न पुगेको छ ।

रेडियोको उद्घाटन पर्सा क्षेत्र नम्बर ५ का साँसद जयप्रकाश थारुले पानसमा वत्ती बालेर गर्नुभयो । रेडियोको उद्घाटन गर्दै सांसद थारुले विजयवस्तीका युवाहरुले देशकै चौथो अंगको रुपमा चिनिने सञ्चार गृहको स्थापना गरेर निर्मलवस्ती, ठोरी, सुवर्णपुर लगायतका गाविसलाई दुरदराजको गाविसले सम्बोधन गर्न छाडेर अब ग्रामिण भेगमा अग्रणी भूमिका निर्वाह गरेर आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभयो । सञ्चार क्षेत्रले विश्वलाई एउटा सानो वस्तीमा रुपान्तरण गर्न सफल भएको भन्दै रेडियो विजयवस्तीले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक लगायतका हरेक क्षेत्रको रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । सञ्चारको विकासले मात्र सबै क्षेत्रको विकास हुने भन्दै सांसद थारुले विजयवस्तीको युवाहरुको सक्रियताको खुलेर प्रशँसा गर्नुभयो । दुर्गम गाविसको रुपमा चिनिने निर्मलवस्तीको विजयवस्तीमा रेडियो सञ्चालनमा आउनु भनेको क्षेत्र नम्बर ५ कै तथा देशकै सञ्चार क्षेत्रमा अर्को एउटा नयाँ आयम यस रेडियोले थपेको भन्दै समाजमा भएको विसंगी तथा विकृतिहरुलाई उजागार गरेर समाज परिवर्तनमा प्रभावकारी भूमिका निर्वाह गर्न यस रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको भन्दै साँसद थारुले रेडियो सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठले विश्वको हरेक क्षेत्रमा आएको परिवर्तनमा सञ्चारकै महत्वपूर्ण भूमिका रहेको भन्दै जिल्लाको दुर्गम गाविसको रुपमा चिनिने निर्मलवस्त, ठोरी, सुवर्णपुर लगायतका गाविसको विकासमा यस रेडियोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस महासमिति सदस्य श्रेष्ठले रेडियोको स्थापना संगै यस क्षेत्रको विकास जोडिएको हुने भएकोले भोलिको दिनमा यस रेडियोले राम्रा कामको प्रशंसा र नराम्रा कामको उजागार गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

नेपाल चेम्वर अफ कमर्श काठमाण्डौका सदस्य एवं विजयवस्तीका स्थानीय समेत रहेका अञ्जान शाक्यले विजयवस्तीका युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय कार्यको थालनी गरेको भन्दै रेडियोलाई निरन्तर दिनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । जसरी युवाहरुको सक्रियतामा रेडियो सञ्चालनमा आउन सफल भएको छ त्यसै गरी भोलिको दिनमा ठोरी, निर्मलवस्ती, सुवर्णपुर लगायतका गाविसलाई लक्षित गरी सामुदायिक अस्पताल स्थापनाका लागि पहल थाल्न युवाहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्मलवस्ती गाविसका निवर्तमान गा.वि.स. अध्यक्ष लालबहादुर श्रेष्ठले दुरदराजमा सञ्चालनमा आएको रेडियोबाट किसान, पेशाकर्मी, राजनीतिककर्मी लगायत समाजका सबै क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा लिने भन्दै सञ्चालनमा आएको रेडियोलाई निरन्तरता दिनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा निर्मलवस्ती गाविसका समाजसेवी रामबहादुर श्रेष्ठले सबै तह र तप्काबाट सहयोग जुटेकाले रेडियो सञ्चालनमा आउन सफल भएको भन्दै भोलिका दिनमा पनि सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
रेडियो स्थापनका लागि सक्रिय भूमिका निर्वाह गरेका स्थानीय युवा मुन्नाकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवाहरु जुटेमा असम्भव कार्यहरु पनि सम्भव हुने भन्दै युवाहरुलाई समाज परिवर्तनका लागि सक्रिय हुन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा रेडियोको महत्व दर्शाउँदै विजयवस्ती उच्च माविका प्र.अ. समेत रहेका नारायण लामाले समाज परिवर्तनका लागि युवा शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो विजयवस्ती एफ.एम.का अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन रेडियोका सचिव गोपीलाल श्रेष्ठले गर्नुभएको थियो । ग्रामिण भेगबाट नै रेडियोको उद्घाटन हुने थाहा पाएर ठोरी, निर्मलवस्ती, सुवर्णपुर, सेढवा लगायतका गाविसबाट कार्यक्रम स्थलमा स्थानीयहरुको भिड लागेको थियो । बुधबारबाट परीक्षण प्रशारण सुरु गरेको सामुदायिक रेडियो विजयवस्तीले विहान ६ बजेदेखि विहान १० बजे र साँझ ५ बजेदेखि राती १० बजेसम्म गरी ९ घण्टा आफ्नो परीक्षण प्रशारण गर्ने रेडियोका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै रेडियोले भविष्यमा समाचार, गीत, कृषि, लगायतका चेतना तथा सन्देश मूलक कार्यक्रम प्रस्तुत गर्ने समेत उहाँले बताउनुभयो । रेडियो स्थापना तथा त्यसको सुरुवाती सञ्चालनमा चितवनको माडीस्थित सामुदायिक रेडियो माडीले प्राबिधिक, भौतिक तथा अन्य सहयोग गरिरहेको छ ।

माडीको बसन्तपुरमा बाथरोग पहिचान तथा निदान सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

बाथरोग उपचार केन्द्र, काठमाडौं, नेपाल बाथरोग जागरण तथा कल्याण समाज काठमाडौं, सुसन पोलिक्लिनिक प्रा. लि. भरतपुर, लायन्स क्लब अफ सेन्ट्रल चितवन र लायन्स क्लब अफ माडी तथा सामुदायिक रेडियो माडीको संयुक्त आयोजनामा सम्पन्न सो शिविरमा माडी उपत्यकाभरीका करीब ३०० जना बाथका बिरामीहरुलाई उपचार गरिएको थियो । शिविरमा बाथरोग बिशेषज्ञ डाक्टर अरुण कुमार गुप्तालगायतका चिकित्सकहरुले स्वास्थ्य परीक्षण तथा उपचार गर्नुभएको थियो भने स्वास्थ्य परीक्षणका लागि आएका बिरामीहरुलाई मिस माडी २०१६ का प्रतियोगिहरुले सहयोग र स्याहार गरेका थिए । विश्वास फार्मेसीको सहयोगमा सञ्चालित सो शिविरमा उपचारका लागि आएका विरामीहरुलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।

शिविर सञ्चालनको सुरुवातमा एक संक्षिप्त उद्घाटन समारोह आयोजना गरिएको थियो । लायन्स क्लब अफ चितवन सेन्ट्रलका अध्यक्ष लायन सिताराम देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि बाथरोग विशेषज्ञ डा. गुप्ता रहनुभएको थियो । सेवा लिन आउने बिरामी तथा सेवा प्रदान गर्न आउने स्वास्थ्यकर्मीहरुलाई स्थानीय आयोजकहरुका तर्फबाट लायन्स क्लब अफ माडीका प्रथम उपाध्यक्ष लायन श्रीप्रसाद दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि डा. गुप्ताले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै हातगोडाका औंलाहरु सुन्निने वा दुख्ने, बिहान उठ्दा हातखुट्टा दुख्ने, अररो हुने वा कक्रक्क हुने, गोलीगाँठा र अन्य जोर्निहरु तन्किएर दुख्ने तथा सुन्निने, हड्डी खिइएको, घुँडा दुख्ने, सुन्निने, ढाड कम्मर दुख्ने, जीउ गल्ने, धेरै थकाइ लाग्ने, पिँडौला, कुर्कुच्चा र पैताला पोल्ने, कट्कट खाने, नशा झमझम गर्ने, छालामा घाउखटिरा आउने, निला डाम देखा पर्ने र पानीमा काम गर्दा छालाको रङ्ग परिवर्तित भई रातो वा नीलो हुने लगायतका लक्षणहरु देखिए बाथ रोग लागेको हुनसक्ने भन्दै पूर्व सतर्कताका लागि सबैलाई अनुरोध गर्नुभएको थियो ।