All posts in Official Updates

सामुदायिक रेडियो माडी एफ. एम. १०७.६ मेगाहर्ज, माडीको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले सुर्य पाठकको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गर्दै १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा नेत्रनाथ आले र अपेक्षा चौधरी, सचिवमा आभास दुबे, सहसचिवमा केशव रानाभाट, कोषाक्ष्यक्षमा सुभद्रा शर्मा तथा सदस्यहरुमा चन्द्रमणी महतो, यमकुमार ल्वागुन, मान बहादुर विष्ट, सुरज अधिकारी, कुबिजा पोख्रेल, प्रविण सुवेदी, पुरन महतो, र हरिकृष्ण लामिछाने चुनिनुभएको छ । साधरणसभाले निवर्तमान अध्यक्ष सुमन शर्मा बराललाई बिदाई गरेको छ भने देव ‘अञ्जान’ शाहले पेश गर्नुभएको प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाको उद्घाटन समारोह माडी क्याम्पसमा प्रमुख घनश्याम भण्डारी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संरक्षक ऋषिराम काफ्ले, उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्य, बघौडा अस्पतालका अध्यक्ष सुर्यनाथ अधिकारी, वडा अध्यक्षहरु, समाजसेवी लगायतले माडीको बिकासमा रेडियो माडीको ठूलो योगदान रहेको बताउनुभयो ।
उद्घाटनसत्र सकिएपश्चात सुरु भएको बन्दसत्रको अध्यक्षता घनश्याम भण्डारीले गर्नुभएको थियो भने अन्य सदस्यहरुमा ऋषिराम काफ्ले र सुमन बराल लरहनुभएको थियो । अध्यक्ष मण्डलले पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि नवगठित कार्यसमितिलाई रेडियोका सल्लाहकार ओवनाथ पाण्डे र संरक्षक ऋषिराम काफ्लेले शुभकामना तथा सुझाव मन्तब्य दिनुभएको थियो ।
यसैबिच रेडियो माडीको नयाँ कार्यसमितिका अध्यक्ष सुर्य पाठकलेले प्रतिबद्धता मन्तव्य व्यक्त गदै रेडियोको थप संबृद्धि र विकासमा दत्तचित्त भई लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अधिवेशनले रेडियोको निर्देशकमा आभास दुबे र स्टेशन म्यानेजरमा सुवास लामिछानेलाई नियुक्त गर्दै करिब ७ वर्ष निर्देशकको भुमिकामाफैत रेडियोलाई यस उचाईसम्म ल्याईपु¥याउन अहोरात्र खटिने देब अञ्जान शाहलाई ससम्मान बिदाई गरेको छ ।
किशोर पौडेल, २४ भाद्र, २०७४

 

 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी.)द्वारा सञ्चालित सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक रेडियो माडी र एकता महिला समूहको संयुक्त आयोजनामा दलित समुदायमा महिलाको अवस्था विषयक रेडियो कचहरी कार्यक्रम २०७३ माघ १७ गते सोमवार, कालिका राष्ट्रिय प्राथमिक विद्यालय, माडी नगरपालिका-६ राधापुरमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई दुई चरणमा वर्गिकृत गरी पहिलो चरण समस्या पहिचान स्वरुप छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै नेकपा (एमाले) का चितवन जिल्ला बैंकल्पिक सदस्य नारायण प्रसाद पौडेलले समाजमा विद्यमान सामाजिक संरचना, अशिक्षा र जनचेतनाको अभावका कारण दलित महिला पछि परेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका कार्यवाहक सभापति भागिरथ बस्यालले दलितप्रतिको विभेदमा आर्थिक कारण महत्वपूर्ण रहेको र राम्रो आय भएका दलितहरुलाई अन्य समुदायले गर्ने व्यवहारमा भने विशेष समस्या नभएकोमा जोड दिनु भयो । स्थानिय बासिन्दा नर बहादुर वि.क.ले सामाजिक चेतनाको अभावका कारण दलित महिलाहरु प्रति भेदभाव हुने गरेको बताउनु भयो । यसै गरी अर्का स्थानिय चन्द्र बहादुर वि.क. ले सामाजिक स्रोत र साधनको असमान वितरणसँगै दलितको आवाज सुनुवाई नहुने गरेको बताउनु भयो । स्थानिय नर बहादुर वि.क. का अनुसार चेतना अभावका कारण समस्या कायमै छ । यसै गरी अर्को आयोजक एकता महिला समूहकी अध्यक्ष सरस्वती भूसालले दलित महिला शिक्षा र आत्मविश्वासको कमीका कारण पछि परेको बताउनु भयो । डर त्रासका कारण समस्या झन् बढ्ने उहाँको भनाई थियो ।

अर्का सहभागी तथा स्थानिय शशीधर वि.क. ले राज्यका निकायमा दलित सहभागिता नभएका कारण समस्या समाधानका लागी चुनौती थपिएको बताउनु भयो । दलित महिला समूहकी प्रतिनिधि बेल कुमारी वि.क.का अनुसार हेला र हेयको दृष्टि कायम रहेको भन्दै परिवर्तन पर्याप्त नभएकोमा जोड दिनु भयो । स्थानिय बासिन्दा कमला वि.क. का अनुसार दलित वर्गका विद्यार्थीले पढाइमा कम ध्यान दिने गरेका कारण स्थानियको समन्वय जरुरी रहेको बताउनु भयो । अर्का स्थानिय बासिन्दा कुल बहादुर वि.क.ले समुदायमा नै स्थानिय सहभागिताको खोजी नहुने र महिला घरमा नै सिमित हुन चाहने बताउनु भयो । चित्रवन महिला समूहकी रमा घतानेले श्रोत र साधनमा पहुँच नपुगेको भन्दै दलित र वि.क. नभन्ने र नलेख्ने आग्रह गर्दैै विश्वकर्मा भन्ने र लेख्नु पर्नेमा जोड दिनु भयो । एनेकपा (माओवादी) केन्द्रका प्रभानन्द तिवारीले सामाजिक एकता कायम गर्न नसक्दा र कहाँ र किन सहभागिता आवश्यक छ भन्ने थाहा नहुदा समस्या भएको बताउनु भयो । स्थानिय शिक्षिका कुविजा पोखरेलले शिक्षा र जनचेतनाको अभाव कायम रहे सफलता प्राप्त नहुने बताउनु भयो । स्थानिय मथुरा ढकालले दलित भित्र नै भेदभाव भएको बताउँदै परिवर्तन दलित भित्र बाटै हुनु पर्नेमा जोड दिनु भयो ।

पहिलो चरण अन्तरगत यसरी समस्याउपर छलफल भइसकेपछि समाधान के हुन सक्छ त भनी दोस्रो चरणमा भएको छलफलमा सहभागीहरुले विभिन्नखाले राय व्यक्त गरे । सर्मिला क्षेत्रीका अनुसार दलित महिला किन पछि परियो भनी आफैँ भित्र उत्तर खोज्नु पर्छ । साथै आफैले आफैलाई सानो सोच्नु हुन्न । सरस्वती भूषालले आफू क्रियाशील हुदैँ समस्या प्रकट गर्न सक्षम हुनु पर्ने बताउनु भयो साथै मेरो भूमिका के हुन सक्छ भनी सोच्नु पर्नेमा जोड दिनु भयो ।

कमला वि.क. का अनुसार दलितका कुरा प्राथमिकताका साथ सुनुवाई हुने वातावरण मिलाउँदै यस्ता अन्य धेरै छलफल हुनु पर्ने बताउनु भयो । यसै गरी शशीधर वि.क.ले दलित लक्षित कार्यक्रम दलित बस्तीमा नै हुनु पर्नेमा जोड दिनुहँदै बजारमा हुने छलफलले निकास नदिने बताउनु भयो । चन्द्र बहादुर वि.क.ले दलित सँग काम गर्ने निकायहरुबिच समन्वय र एकता भएर काम हुनु पर्ने बताउनु भयो । स्थानीय विद्यालयका प्रधानाध्यापक कृष्णलाल न्यौपानेले संकुचित भावना हटाउँदै समस्या समाधानका लागि आफू नै अग्रसर हुनु पर्ने बताउनु भयो । कुविजा पोखरेलले समस्या समाधानका लागी प्रशिक्षण, नाटक, समावेशी कार्यक्रम उपयुक्त हुने बताउनु भयो । रमा घतानेले घरको काममा मात्र सिमीत नभइ घर बाहिर सक्रिय हुनु पर्नेमा जोड दिनु भयो । प्रभानन्द तिवारीले समावेशी सहभागिता सँगै क्षमताको आधारमा अवसर दिनु पर्ने बताउनु भयो । विद्यालयका पूर्व शिक्षक टिकाराम पौडेलले रुढीवादी परम्पराको अन्त्य सँगै विभेद अन्त्य भएमा सभ्य समाजको निमार्ण हुने बताउनु भयो । नारायण प्रसाद पौडेलले भेदभाव जातीय नभइ वर्गको समस्या भएको भन्दै धनी र गरीबको खाडल गर्न लाग्नु पर्नेमा जोड दिदै अवसर लिने र दिने कामको सुरुवात हुनु पर्ने बताउनु भयो ।

कार्यक्रमको उत्तरार्धमा सो कचहरीमा उठेका समस्याहरुको पहिचान पश्चात तीनको न्यूनिकरण एवं निवारणमा सबैजना सक्रिय रहने प्रतिवद्धतापत्र जारी भई सहभागीहरुले हस्ताक्षर गरेका थिए । कचहरीको सामुदायिक रेडियो माडीले प्रतक्ष्य प्रसारण गरेको थियो ।

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (यू.एन.डि.पी) को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो माडीको आयोजना तथा बर्डस् नेपाल बघौंडा र बघौंडा संयुक्त महिला समूहमा आवद्ध पाँचवटा आमा समूहको स्थानीय व्यवस्थापन एवम् सह–आयोजनामा थारु समुदायमा महिलाको अवस्था तथा थारु महिलाहरुको शसक्तिकरणका विषयमा कचहरी कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको प्राचीन छलफल प्रकृया कचहरीलाई रेडियो कार्यक्रमको स्वरुप एवं शैलीमा सामुहिक अध्यक्षताबिच कार्यक्रम सञ्चालन गरिएको थियो ।

दिउँसो १२ बजे सुरु गरिएको कार्यक्रमलाई रेडियो माडीका पत्रकार नेत्र आचार्यले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा थारु कल्याणकारी संभा, माडीका उपाध्यक्ष विश्वमती महतो, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, स्थानिय समाज सेवी तथा सामाजिक मेलमिलाप समितिका अध्यक्ष भुवानी प्रसाद पौडेल, माडीका युवा पण्डित सुर्दशन सुवेदी, बड्र्स नेपालका प्रतिनिधि मनोज चौधरी, मध्यवर्ती क्षेत्र बघौंडा उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो, माडी नगरपालिका वातावरण विद् बमबम मण्डल, स्थानिय थारु अधिकारकर्मी ललित चौधरी, ईलाका प्रशाशन कार्यालय माडीका किसान प्रेमी, सोमेश्वर युवा क्लब सिधुवाकी अस्मिता महतो, स्थानिय महिला समूहकी रजपतिया महतो लगायत अन्य महिला समूहका प्रतिनिधी, समाज सेवी, बुद्धिजीवि तथा यू.एन.डि.पी. क्षेत्रिय कार्यालय चितवन की इन्दिरा आले मगरको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा थारु समुदायमा महिलाको समस्या तथा ती समस्या निवारणमा समुदाय, सरकारी तथा गैर–सरकारी निकाय एवम् स्वयम् परिवारको भूमिका के रहन सक्छ भन्ने विषयमा विशेष छलफल भएको थियो । उपस्थित सम्पूर्णले स्थानिय समस्याको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यू.एन.डि.पी. मध्यमाञ्चल क्षेत्रीय कार्यालय चितवनकी प्रमुख इन्दिरा आले मगरले समाजको पूर्ण रुपान्तरणका लागि आफै लाग्नु पर्ने बताउँदै समस्या रहेको क्षेत्रमा नै सोही विषयमा छलफल र बहस भएमा प्रभावकारी हुनेमा जोड दिनु भयो । उहाँले आर्थिक पाटो असक्षम हुनाले महिलाहरु अरुमा भर पर्नु परेको बताउँदै आयमूलक कार्यमा लाग्न अनुरोध गर्नुभयो साथै सम्पूर्णमा सकारात्मक सोचको विकास गर्न र आफ्नो अधिकार खोज्न अग्रसर हुनु पर्ने बताउनु हुदैँ शान्ति मन्त्रालयको सहयोगमा नेपालको ४ वटा विकास क्षेत्रमा यस्तै कार्यक्रमहरु सञ्चालन भई रहेको जानकारी दिनु भयो ।

इलाका प्रशासन कार्यालय माडीका निमित्त प्रमुख किसान प्रेमीले थारु समाजमा महिलाको अवस्थाबारे भित्री यथार्थ कचहरी कार्यक्रम मार्फत सम्पूर्णमा सम्प्रेषण गरेकोमा आयोजक प्रति आभार प्रकट गर्नुहुदैँ पछिल्लो समय विद्यालय तथा कलेजमा महिलाको संख्या बढ्दै गएको र माडीको इलाका प्रशासन कार्यालयमा समेत अधिक सहभागिता रहेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले सरकारले पनि पछिल्लो समय महिलाहरुलाई सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको औंलाउनु भयो र सहभागितामा मात्र नभई नेतृत्वमा पनि जान अग्रसर हुन सुझाव दिनु भयो ।

यसैगरी स्थानिय महिला नेतृ तथा थारु कल्याणकारी सभा चितवनका सदस्य रजपतिया महतोले माडी नगरपालिका तथा देशको अन्य तहतप्कामा थारु महिलाको नेतृत्व न्यून भएको तथा पछिल्लो समय थारु भेषभूषाको दुरुपयोग हुने गरेको गुनासो गर्नु हुदैँ राज्य पक्षले नै थारु महिलालाई बेवास्ता गरेको जनाउनुभयो । अर्की स्थानीय महिला नेतृ बबी महतोले पुरुष प्रदान राष्ट्र नेपाल र थारु समुदाय पनि पुरुषप्रधान भएकाले महिलालाई अवसरको न्यून अवस्था रहेको विचार व्यक्त गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले थारु महिलालाई प्रजनन् प्रकृयामा समेत स्वतन्त्रता नभएको प्रति खेद प्रकट गर्नु भएको थियो र यो हुन नदिन आत्मविश्वासी र निर्भर बन्नु पर्ने मा जोड दिनु भयो । जागृती महिला समुहकी हरिमाया चौधरी र सरस्वती टोल सुधार समितिका राजकुमारी महतोले महत्वपुर्ण समय घरायसी काममा खेप्नुपर्ने बाध्यात्मक अवस्था रहेको र बाहिरी कार्यमा अग्रसर हँुदा निरुत्साहित गर्ने प्रचलन रहेकोले सकारात्मक बन्नुपर्ने बताउनु भयो । त्यसैगरी सोमेश्वर युवा क्लव सिधुवाकी अस्मिता महतोले थारुहरुको लागि भाषिक समस्या प्रमुख रहेको भन्दै राज्यले थारु महिलाको लागि विशेष शिक्षा योजना ल्याउन आवश्यक रहेको औल्याउनु भयो । पछि परेका र पारिएका महिलाहरुलाई शसक्तिकरण गर्न समता र पहुँचका कार्यक्रम अवलम्वन गर्नु पनि उहाँको भनाइ थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले थारु समुदायमा अझै पनि बोक्सी प्रथा लगायतका कुरीति र कुप्रथाले जरा गाडेर बसेको बताउदै त्यसको अन्त्यका लागि शिक्षाको अभिवृद्घिसँगै समुदायदेखि स्थानिय निकायसम्म समान सहभागिता र स्रोत र साधनको समानुपातिक वितरण हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको उत्तरार्धमा सो कचहरीमा उठेका समस्याहरुको पहिचान पश्चात तीनको न्यूनिकरण एवं निवारणमा सबैजना सक्रिय रहने प्रतिवद्धतापत्र जारी भई सहभागीहरुले हस्ताक्षर गरेका थिए । कचहरीको सामुदायिक रेडियो माडीले प्रतक्ष्य प्रसारण गरेको थियो ।

गोर्खा भुकम्पमा बुवाआमा एवं घरबार गुमाएका अनाथ बालबालिकाहरुलाई निःशुल्करुपमा आवासीय सुविधासहित पढ्ने वातावरण तयार गर्न माडीमा धानरोपाईं गरिएको छ । सामुदायिक रेडियो माडी र दिवाकर स्मृति विद्यालय, माडीद्वारा संयुक्त रुपमा सञ्चालित भुकम्प प्रभावित बालबालिकाहरुको आवासीय अध्यापन परियोजना–२०७२ अन्तरगत गतबर्षको भुकम्पबाट पीडित बनेका बालबालिकाहरुलाई बर्षभर खाना उपलब्ध गराउन १४ कठ्ठा खेतमा धानखेती गरिएको हो । त्यसैगरी करीब १ कठ्ठा जमीनमा मासको दाल खेती गरिने योजना रहेको छ ।

रोपाईं कार्यक्रममा इलाका प्रशासन कार्यालय, माडीका प्रमुख कृष्ण सुवेदी, इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक कुमार कार्की, कृषि सेवा केन्द्र, माडीका प्राविधिक गोबिन्द मल्ल, गर्दी स्वास्थ्य चौकीका इञ्चार्ज गोबिन्द पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यसैगरी माडीमा क्रियाशील राजनैतिक पार्टीका जिल्ला एवं स्थानीय तहका नेताहरुसहित माडीका सामाजिक एवं राजनैतिक अगुवाहरुको समेत सहभागिता रहेको थियो । रोपाईं कार्यमा बसन्तपुर बजार, पिपरिया एवं नयाँपिपरिया गाउँ तथा माडीका विभिन्न बस्तीहरुबाट स्वतःस्फूर्त रुपमा महिला एवं किशोरकिशोरी, दिवाकर स्मृति विद्यालय परिवार, रेडियो माडीका सञ्चारकर्मी तथा व्यवसायी र किसानहरु उल्लेख्य रुपमा सहभागी बनेका थिए ।

गत २०७२ बैशाखको भुकम्प र त्यसपश्चात गएका पराकम्पहरुको श्रृङ्खलाका कारण अभिभावक गुमाएका गोर्खा, सिन्धुपाल्चोक, दोलखा र चितवनको विकट पहाडी क्षेत्रका गरी पाँचजना बालबालिकाहरुलाई निःशुल्क लालनपालन, शिक्षादीक्षाका र प्राबिधिक ज्ञान प्रदान गरी सबल र दक्ष नागरिक बनाउन, भुकम्पका कारण भएका क्षतीको व्यवस्थापन र पुनस्र्थापना प्रक्रिया अन्तरगत शिक्षाको फाँटमा राज्यलाई सहयोग गर्न तथा मानवीय भावनासहित सामाजिक दायित्व एवं कर्तव्य निर्वाहको निम्ति रेडियो माडी र दिवाकर स्मृति विद्यालयको संयुक्त प्रयत्नमा सो परियोजना सुरुवात गरिएको थियो । सम्पूर्ण कानुनी एवं दर्ताप्रकृया पुरा गरी सुरुवात गरिएको सो परियोजना अन्तरगत माडीसहित स्वदेश एवं प्रवासमा रहेका विभिन्न सहयोगी संघसंस्था र दाताहरुबाट यथासम्भव सहयोग संकलन गर्ने तथा विद्यालय र रेडियोले समेत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवभार व्यहोर्ने गरिएको छ ।

परियोजना सञ्चालनको पहिलो बर्ष जर्मनीमा बसोबास गरिरहनुभएका डा. देव प्रसाद पाण्डेको मुख्य भूमिकासहित २ लाख ६५ हजार रुपैंया प्राप्त भई खर्च धानिएको थियो । जारी बर्ष भूकम्प पीडित पाँचैजना विद्यार्थीहरुको खाना व्यवस्थापनका लागि खेती गरिएको भएपनि अन्य खर्चहरुको व्ययभारका निम्ति परियोजनाले सहयोगी वा दाता संघसंस्था एवं व्यक्तित्वहरुलाई सार्वजनिक अनुरोध गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा हुने मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ६ जिल्लाका रेडियोबीच नेटवर्क बनाइएको छ । निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षको प्रभाव वा मध्यवर्ती क्षेत्रमा पर्ने भित्र पर्ने प्रसारण संस्थाको नेटवर्क गठन भएको हो ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडीको अगुवाइमा चितवन, नवलपरासी, बारा, मकवानपुर, रौतहट र पर्सा जिल्लाका २० वटा रेडियोको संलग्नतामा नेटवर्क गठन गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनले जनाएको छ । नेटवर्कमा संलग्न अन्य रेडियोमा हाल पर्सा जिल्लाको रेडियो नारायणी र रेडियो विजयवस्ती, बारा जिल्लाको रेडियो समर्पण र रेडियो आकाशवाणी, मकवानपुरको रेडियो शक्ति, नवलपरासीको रेडियो मध्यबिन्दु, ह्याप्पी एफएम, रेडियो सामर्थ्र्य, रेडियो नवलपुर र विजय एफएम तथा चितवन जिल्लाका कालिका एफएम, रेडियो त्रिवेणी, हाम्रो एफएम, रेडियो शिवशक्ति, रेडियो सम्पदा, रेडियो अर्पण र ग्रेट एफ.एम. संलग्न छन् ।

सो नेटवर्कले निकुञ्ज र आरक्षका मध्यवर्ती क्षेत्रका मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यू्नीकरण गर्ने विश्वास छ । यहाँको जैविक विविधता संरक्षण र वन एवम् वनपैदावरको संरक्षणका निम्ति रेडियो कार्यक्रम उत्पादन तथा सूचना एवम् समाचार प्रसारण गरेर द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ । नेटवर्कमा संलग्न प्रसारण संस्थासँग राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षले सहकार्य गर्ने जनाएको छ ।