सामुदायिक रेडियो माडीमा धन्खु लालकाजी गुरुङ्ग छात्रबृत्ति स्थापना

dhankhu lalkaji

माडी नगरपालिका क्षेत्रभरबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सर्बोत्कृष्ट स्थान हासिल गर्ने छात्र एवं छात्रालाई धन्खु-लालकाजी गुरुङ्ग छात्रबृत्ति प्रदान गरिने भएको छ ।

संयुक्त अधिराज्यस्थित चितवन सहयोग कोष (CAT-UK) का निवर्तमान अध्यक्ष तथा व्यवसायी कृष्ण गुरुङ्गले आफ्ना स्वर्गीय हजुरबुबा लालकाजी गुरुङ्ग र हजुरआमा धन्खु गुरुङ्गको स्मृतिमा सामुदायिक रेडियो माडी एफ.एम. १०७.६ मेगाहर्जमा स्थापना गर्नुभएको धन्खु लालकाजी अक्षयकोषमार्फत हरेक बर्ष सो छात्रवृत्ति प्रदान हुने भएको हो । भर्खरै सम्पन्न शैक्षिक बर्ष २०७२ को कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याएका छात्र एवं छात्राले समेत छात्तवृत्ति प्राप्त गर्नेछन् । सामुदायिक, संस्थागत वा गुठी सबैखालका विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरुको समस्टीगत नतीजको आधारमा सबैभन्दा धेरै प्राप्ताङ्क भएका छात्र र छात्रालाई रु ६ हजार पाँच सय रुपैंया बराबरको छात्रवृत्ति प्रदान हुने भएको हो ।

यसअघि सामुदायिक रेडियो माडीमै, माडी उपत्यका शैक्षिक अक्षय कोषका रुपमा रु पचास हजार रुपैंयाको अर्को अक्षय कोष समेत स्थापना गरिएको छ । तात्कालीन समयमा जर्मनीमा विद्याबारिधी अध्ययनरत माडी खैरहनीका डा. देव प्रसाद पाण्डे, अष्ट्रेलियामा विद्याबारिधी अध्ययनरत शोभा नेपाली र डेनमार्कमा विद्याबारिधी अध्ययनरत भानेश्वर पोखरेलको रु २०, २० र १० हजारको सुरुवाती रकमबाट स्थापित सो अक्षय कोषले माडीको शैक्षिक विकासका लागि विविध शैक्षिक क्रियाकलाप सञ्चालन तथा माडीको शैक्षिक फाँटमा क्रियाशील वा सेवानिवृत्त शिक्षाकर्मीहरुलाई सम्मान गर्ने उद्देश्य राखेको छ ।

यसैबिच, चितवन सहयोग कोष बेलायतका निवर्तमान अध्यक्ष गुरुङ्गले रेडियो माडीद्वारा सञ्चालनको तयारी गरिएको माडी सामुदायिक सुचना केन्द्र तथा विध्युतिय पुस्तकालयको सहयोगार्थ रु २० हजार रुपैंया सहयोगस्वरुप प्रदान गर्नुभएको छ । माडीको बसन्तपुर बजारमा अत्याधुनिक सुचना केन्द्र सहितको ई–लाइब्रेरी निर्माण अभियानको सुरुवातस्वरुप पारिजात सामुदायिक अध्ययन केन्द्र र गर्दी सामुदायिक पुस्तकालयसंग साझेदारी गर्दै रेडियो माडीले पुस्तकालय निर्माणको अभियान अगाडि बढाएको छ ।