भुकम्पीय सुरक्षा सचेतना विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

भुकम्प प्रभावित विद्यार्थीहरुको आवासीय अध्यापन परियोजनाको आयोजनामा आइतबार भुकम्प सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक रेडियो माडी र दिवाकर स्मृति विद्यालयद्वारा संयुक्त रुपमा सञ्चालित सो परियोजनाद्वारा सञ्चालित कार्यक्रममा भुकम्पविद् तथा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर भुगर्भ विभाग संयोजक डा. रञ्जन दाहाल र इञ्जिनियर डा. मनिता तिमिल्सिनाले भुकम्पको कारण, असर र बच्ने उपायहरुका बिषयमा प्रशिक्षण गर्नुभएको थियो । परियोजनाका संयोजक तथा दिवाकर स्मृति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा साँसद धनिराम (डि.आर.) पौडेल, पूर्व साँसद तीर्थराज भुसाल, रेडियोका संरक्षक एवं विद्यालयका सल्लाहकार सन्देश पौडेलसंगै माडीका विभिन्न संघसंस्थामा आवद्ध एवं सरोकारवाला व्यक्तित्व तथा सर्वसाधारण माडीवासीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियो माडीका निर्देशक देव अञ्जान शाहले गर्नुभएको थियो । अन्तरक्रियात्मक तवरबाट सञ्चालित सो सचेतना कार्यक्रमका सहभागीहरुले भुकम्प र यसका विभिन्न पाटोहरुबारे जिज्ञासा राखेका थिए भने प्रशिक्षकद्वयले त्यसको जवाफ एवं जानकारी दिनुभएको थियो ।

परियोजना अन्तरगत गतबर्ष बैशाख १२ को भुकम्प तथा त्यसका पराकम्पहरुका कारण घरबार विहिन हुनुपरेका तथा अभिभावक गुमाएका सिन्धुपाल्चोक टेकानपुरका सोनाम नेपाली, काभ्रेपलाञ्चोकका अरुण तामाङ, चितवन लोथरका बिपना चेपाङ र गोरर्खा सिर्दिवासका आयुष गुरुङ्ग र सिर्जना घले आवासीय रुपमा अध्ययनरत रहेका छन् । स्वदेश एवं प्रवासमा रहेका सहयोगी व्यक्ति एवं संघसंस्थाहरुको सामुहिक सहयोगमा सो परियोजना सञ्चालनमा रहेको छ ।