थारु महिलाहरुको शसक्तिकरणका विषयमा कचहरी कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (यू.एन.डि.पी) को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो माडीको आयोजना तथा बर्डस् नेपाल बघौंडा र बघौंडा संयुक्त महिला समूहमा आवद्ध पाँचवटा आमा समूहको स्थानीय व्यवस्थापन एवम् सह–आयोजनामा थारु समुदायमा महिलाको अवस्था तथा थारु महिलाहरुको शसक्तिकरणका विषयमा कचहरी कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको प्राचीन छलफल प्रकृया कचहरीलाई रेडियो कार्यक्रमको स्वरुप एवं शैलीमा सामुहिक अध्यक्षताबिच कार्यक्रम सञ्चालन गरिएको थियो ।

दिउँसो १२ बजे सुरु गरिएको कार्यक्रमलाई रेडियो माडीका पत्रकार नेत्र आचार्यले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा थारु कल्याणकारी संभा, माडीका उपाध्यक्ष विश्वमती महतो, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, स्थानिय समाज सेवी तथा सामाजिक मेलमिलाप समितिका अध्यक्ष भुवानी प्रसाद पौडेल, माडीका युवा पण्डित सुर्दशन सुवेदी, बड्र्स नेपालका प्रतिनिधि मनोज चौधरी, मध्यवर्ती क्षेत्र बघौंडा उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो, माडी नगरपालिका वातावरण विद् बमबम मण्डल, स्थानिय थारु अधिकारकर्मी ललित चौधरी, ईलाका प्रशाशन कार्यालय माडीका किसान प्रेमी, सोमेश्वर युवा क्लब सिधुवाकी अस्मिता महतो, स्थानिय महिला समूहकी रजपतिया महतो लगायत अन्य महिला समूहका प्रतिनिधी, समाज सेवी, बुद्धिजीवि तथा यू.एन.डि.पी. क्षेत्रिय कार्यालय चितवन की इन्दिरा आले मगरको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा थारु समुदायमा महिलाको समस्या तथा ती समस्या निवारणमा समुदाय, सरकारी तथा गैर–सरकारी निकाय एवम् स्वयम् परिवारको भूमिका के रहन सक्छ भन्ने विषयमा विशेष छलफल भएको थियो । उपस्थित सम्पूर्णले स्थानिय समस्याको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यू.एन.डि.पी. मध्यमाञ्चल क्षेत्रीय कार्यालय चितवनकी प्रमुख इन्दिरा आले मगरले समाजको पूर्ण रुपान्तरणका लागि आफै लाग्नु पर्ने बताउँदै समस्या रहेको क्षेत्रमा नै सोही विषयमा छलफल र बहस भएमा प्रभावकारी हुनेमा जोड दिनु भयो । उहाँले आर्थिक पाटो असक्षम हुनाले महिलाहरु अरुमा भर पर्नु परेको बताउँदै आयमूलक कार्यमा लाग्न अनुरोध गर्नुभयो साथै सम्पूर्णमा सकारात्मक सोचको विकास गर्न र आफ्नो अधिकार खोज्न अग्रसर हुनु पर्ने बताउनु हुदैँ शान्ति मन्त्रालयको सहयोगमा नेपालको ४ वटा विकास क्षेत्रमा यस्तै कार्यक्रमहरु सञ्चालन भई रहेको जानकारी दिनु भयो ।

इलाका प्रशासन कार्यालय माडीका निमित्त प्रमुख किसान प्रेमीले थारु समाजमा महिलाको अवस्थाबारे भित्री यथार्थ कचहरी कार्यक्रम मार्फत सम्पूर्णमा सम्प्रेषण गरेकोमा आयोजक प्रति आभार प्रकट गर्नुहुदैँ पछिल्लो समय विद्यालय तथा कलेजमा महिलाको संख्या बढ्दै गएको र माडीको इलाका प्रशासन कार्यालयमा समेत अधिक सहभागिता रहेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले सरकारले पनि पछिल्लो समय महिलाहरुलाई सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको औंलाउनु भयो र सहभागितामा मात्र नभई नेतृत्वमा पनि जान अग्रसर हुन सुझाव दिनु भयो ।

यसैगरी स्थानिय महिला नेतृ तथा थारु कल्याणकारी सभा चितवनका सदस्य रजपतिया महतोले माडी नगरपालिका तथा देशको अन्य तहतप्कामा थारु महिलाको नेतृत्व न्यून भएको तथा पछिल्लो समय थारु भेषभूषाको दुरुपयोग हुने गरेको गुनासो गर्नु हुदैँ राज्य पक्षले नै थारु महिलालाई बेवास्ता गरेको जनाउनुभयो । अर्की स्थानीय महिला नेतृ बबी महतोले पुरुष प्रदान राष्ट्र नेपाल र थारु समुदाय पनि पुरुषप्रधान भएकाले महिलालाई अवसरको न्यून अवस्था रहेको विचार व्यक्त गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले थारु महिलालाई प्रजनन् प्रकृयामा समेत स्वतन्त्रता नभएको प्रति खेद प्रकट गर्नु भएको थियो र यो हुन नदिन आत्मविश्वासी र निर्भर बन्नु पर्ने मा जोड दिनु भयो । जागृती महिला समुहकी हरिमाया चौधरी र सरस्वती टोल सुधार समितिका राजकुमारी महतोले महत्वपुर्ण समय घरायसी काममा खेप्नुपर्ने बाध्यात्मक अवस्था रहेको र बाहिरी कार्यमा अग्रसर हँुदा निरुत्साहित गर्ने प्रचलन रहेकोले सकारात्मक बन्नुपर्ने बताउनु भयो । त्यसैगरी सोमेश्वर युवा क्लव सिधुवाकी अस्मिता महतोले थारुहरुको लागि भाषिक समस्या प्रमुख रहेको भन्दै राज्यले थारु महिलाको लागि विशेष शिक्षा योजना ल्याउन आवश्यक रहेको औल्याउनु भयो । पछि परेका र पारिएका महिलाहरुलाई शसक्तिकरण गर्न समता र पहुँचका कार्यक्रम अवलम्वन गर्नु पनि उहाँको भनाइ थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले थारु समुदायमा अझै पनि बोक्सी प्रथा लगायतका कुरीति र कुप्रथाले जरा गाडेर बसेको बताउदै त्यसको अन्त्यका लागि शिक्षाको अभिवृद्घिसँगै समुदायदेखि स्थानिय निकायसम्म समान सहभागिता र स्रोत र साधनको समानुपातिक वितरण हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको उत्तरार्धमा सो कचहरीमा उठेका समस्याहरुको पहिचान पश्चात तीनको न्यूनिकरण एवं निवारणमा सबैजना सक्रिय रहने प्रतिवद्धतापत्र जारी भई सहभागीहरुले हस्ताक्षर गरेका थिए । कचहरीको सामुदायिक रेडियो माडीले प्रतक्ष्य प्रसारण गरेको थियो ।