रेडियो माडी समेतको आयोजनामा माडीमा रोपाईंजात्रा र लाखेनाँच

ropai jatra 2071

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा माडीको बसन्तपुर बजारमा परम्परागत मेला र झाँकी सहितको रोपाईंजात्रा र लाखेनाँच देखाइएको छ ।

सामुदायिक रेडियो माडीसंगै बसन्तपुर बजार बिकास तथा व्यवस्थापन समिति, श्रृजनशील आमा समूह, शिवशक्ति आमा समूह, हरियाली आमा समूह र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा दिउँसो करीब १ बजे सुरु भएको उक्त कार्यक्रममा माडीका विभिन्न गाउँहरु सहित स्वदेश र बिदेशबाट आएका हजारौं दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, बसन्तपुरले राधाकृष्ण नाँच तथा हरियाली आमा समूहले थारु लाठी नाँच समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममै अवसरमा विभिन्न प्रतियोगिताहरु समेत आयोजना गरिएका थिए, जस अन्तरगत ८५ किलोग्राम भन्दा धेरै तौल भएका पुरुषहरुको दौड प्रतियोगिता, ७० किलोग्राम भन्दा धेरै वजन भएका महिलाहरुको दौड प्रतियोगिता, श्रीमान र श्रीमतीको जोडी मिलेर स्याउ खाने प्रतियोगिता र चिप्लो घसेको पोलमा चढी टुप्पोमा राखिएको कुखुराको भाले जित्ने प्रतियोगिताहरु रहेका थिए । पुरुष दौडमा प्रथम, द्वितिय र तृतीय क्रमशः गुमान सिंह दराई, महेश पौडेल र सुकबहादुर सुनार हुन सफल हुनुभयो । त्यसैगरी महिला दौडमा प्रथम, द्वितिय र तृतीय हुन क्रमशः लक्ष्मी थापा, गीता पौडेल र श्रृजना तामाङ सफल हुनुभयो भने स्याउ खाने प्रतियोगिताको उपाधी यम कुमार ल्यागुन र पुनम ल्यागुनको जोडीले जित्न सफल भयो । उता, २० फिट अग्लो र चिप्लो पोल चढ्दै कुखुराको भाले जित्न भने सन्तोष मर्दनिया सफल रहनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा रेडियो माडीका निर्देशक देव अञ्जान शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश लामिछाने र प्रमुख अतिथि जिल्ला गैरसरकारी संस्था समन्वय समिति चितवनका अध्यक्ष तथा प्रथम माडी महोत्सव २०६९ का संयोजक श्रीप्रसाद दवाडी रहनुभएको थियो । कार्यक्रमलाई सामुदायिक रेडियो माडीले प्रत्यक्ष प्रसारण गरेको थियो भने स्टेज कार्यक्रमको सञ्चालन रेडियो माडीका सञ्चारकर्मी अपेक्षा चौधरीले गर्नुभएको थियो ।

(२०७१ भदौ १ गते)