भूकम्प पीडित बालबालिकालाई खाद्यान्न सहयोगार्थ माडीमा धानखेती र रोपाईं

गोर्खा भुकम्पमा बुवाआमा एवं घरबार गुमाएका अनाथ बालबालिकाहरुलाई निःशुल्करुपमा आवासीय सुविधासहित पढ्ने वातावरण तयार गर्न माडीमा धानरोपाईं गरिएको छ । सामुदायिक रेडियो माडी र दिवाकर स्मृति विद्यालय, माडीद्वारा संयुक्त रुपमा सञ्चालित भुकम्प प्रभावित बालबालिकाहरुको आवासीय अध्यापन परियोजना–२०७२ अन्तरगत गतबर्षको भुकम्पबाट पीडित बनेका बालबालिकाहरुलाई बर्षभर खाना उपलब्ध गराउन १४ कठ्ठा खेतमा धानखेती गरिएको हो । त्यसैगरी करीब १ कठ्ठा जमीनमा मासको दाल खेती गरिने योजना रहेको छ ।

रोपाईं कार्यक्रममा इलाका प्रशासन कार्यालय, माडीका प्रमुख कृष्ण सुवेदी, इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक कुमार कार्की, कृषि सेवा केन्द्र, माडीका प्राविधिक गोबिन्द मल्ल, गर्दी स्वास्थ्य चौकीका इञ्चार्ज गोबिन्द पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यसैगरी माडीमा क्रियाशील राजनैतिक पार्टीका जिल्ला एवं स्थानीय तहका नेताहरुसहित माडीका सामाजिक एवं राजनैतिक अगुवाहरुको समेत सहभागिता रहेको थियो । रोपाईं कार्यमा बसन्तपुर बजार, पिपरिया एवं नयाँपिपरिया गाउँ तथा माडीका विभिन्न बस्तीहरुबाट स्वतःस्फूर्त रुपमा महिला एवं किशोरकिशोरी, दिवाकर स्मृति विद्यालय परिवार, रेडियो माडीका सञ्चारकर्मी तथा व्यवसायी र किसानहरु उल्लेख्य रुपमा सहभागी बनेका थिए ।

गत २०७२ बैशाखको भुकम्प र त्यसपश्चात गएका पराकम्पहरुको श्रृङ्खलाका कारण अभिभावक गुमाएका गोर्खा, सिन्धुपाल्चोक, दोलखा र चितवनको विकट पहाडी क्षेत्रका गरी पाँचजना बालबालिकाहरुलाई निःशुल्क लालनपालन, शिक्षादीक्षाका र प्राबिधिक ज्ञान प्रदान गरी सबल र दक्ष नागरिक बनाउन, भुकम्पका कारण भएका क्षतीको व्यवस्थापन र पुनस्र्थापना प्रक्रिया अन्तरगत शिक्षाको फाँटमा राज्यलाई सहयोग गर्न तथा मानवीय भावनासहित सामाजिक दायित्व एवं कर्तव्य निर्वाहको निम्ति रेडियो माडी र दिवाकर स्मृति विद्यालयको संयुक्त प्रयत्नमा सो परियोजना सुरुवात गरिएको थियो । सम्पूर्ण कानुनी एवं दर्ताप्रकृया पुरा गरी सुरुवात गरिएको सो परियोजना अन्तरगत माडीसहित स्वदेश एवं प्रवासमा रहेका विभिन्न सहयोगी संघसंस्था र दाताहरुबाट यथासम्भव सहयोग संकलन गर्ने तथा विद्यालय र रेडियोले समेत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवभार व्यहोर्ने गरिएको छ ।

परियोजना सञ्चालनको पहिलो बर्ष जर्मनीमा बसोबास गरिरहनुभएका डा. देव प्रसाद पाण्डेको मुख्य भूमिकासहित २ लाख ६५ हजार रुपैंया प्राप्त भई खर्च धानिएको थियो । जारी बर्ष भूकम्प पीडित पाँचैजना विद्यार्थीहरुको खाना व्यवस्थापनका लागि खेती गरिएको भएपनि अन्य खर्चहरुको व्ययभारका निम्ति परियोजनाले सहयोगी वा दाता संघसंस्था एवं व्यक्तित्वहरुलाई सार्वजनिक अनुरोध गरेको छ ।