दलित महिलाहरुको सशक्तिकरणका लागि रेडियो कचहरी सम्पन्न

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी.)द्वारा सञ्चालित सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक रेडियो माडी र एकता महिला समूहको संयुक्त आयोजनामा दलित समुदायमा महिलाको अवस्था विषयक रेडियो कचहरी कार्यक्रम २०७३ माघ १७ गते सोमवार, कालिका राष्ट्रिय प्राथमिक विद्यालय, माडी नगरपालिका-६ राधापुरमा सम्पन्न भयो । उक्त कार्यक्रमलाई दुई चरणमा वर्गिकृत गरी पहिलो चरण समस्या पहिचान स्वरुप छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै नेकपा (एमाले) का चितवन जिल्ला बैंकल्पिक सदस्य नारायण प्रसाद पौडेलले समाजमा विद्यमान सामाजिक संरचना, अशिक्षा र जनचेतनाको अभावका कारण दलित महिला पछि परेको बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका कार्यवाहक सभापति भागिरथ बस्यालले दलितप्रतिको विभेदमा आर्थिक कारण महत्वपूर्ण रहेको र राम्रो आय भएका दलितहरुलाई अन्य समुदायले गर्ने व्यवहारमा भने विशेष समस्या नभएकोमा जोड दिनु भयो । स्थानिय बासिन्दा नर बहादुर वि.क.ले सामाजिक चेतनाको अभावका कारण दलित महिलाहरु प्रति भेदभाव हुने गरेको बताउनु भयो । यसै गरी अर्का स्थानिय चन्द्र बहादुर वि.क. ले सामाजिक स्रोत र साधनको असमान वितरणसँगै दलितको आवाज सुनुवाई नहुने गरेको बताउनु भयो । स्थानिय नर बहादुर वि.क. का अनुसार चेतना अभावका कारण समस्या कायमै छ । यसै गरी अर्को आयोजक एकता महिला समूहकी अध्यक्ष सरस्वती भूसालले दलित महिला शिक्षा र आत्मविश्वासको कमीका कारण पछि परेको बताउनु भयो । डर त्रासका कारण समस्या झन् बढ्ने उहाँको भनाई थियो ।

अर्का सहभागी तथा स्थानिय शशीधर वि.क. ले राज्यका निकायमा दलित सहभागिता नभएका कारण समस्या समाधानका लागी चुनौती थपिएको बताउनु भयो । दलित महिला समूहकी प्रतिनिधि बेल कुमारी वि.क.का अनुसार हेला र हेयको दृष्टि कायम रहेको भन्दै परिवर्तन पर्याप्त नभएकोमा जोड दिनु भयो । स्थानिय बासिन्दा कमला वि.क. का अनुसार दलित वर्गका विद्यार्थीले पढाइमा कम ध्यान दिने गरेका कारण स्थानियको समन्वय जरुरी रहेको बताउनु भयो । अर्का स्थानिय बासिन्दा कुल बहादुर वि.क.ले समुदायमा नै स्थानिय सहभागिताको खोजी नहुने र महिला घरमा नै सिमित हुन चाहने बताउनु भयो । चित्रवन महिला समूहकी रमा घतानेले श्रोत र साधनमा पहुँच नपुगेको भन्दै दलित र वि.क. नभन्ने र नलेख्ने आग्रह गर्दैै विश्वकर्मा भन्ने र लेख्नु पर्नेमा जोड दिनु भयो । एनेकपा (माओवादी) केन्द्रका प्रभानन्द तिवारीले सामाजिक एकता कायम गर्न नसक्दा र कहाँ र किन सहभागिता आवश्यक छ भन्ने थाहा नहुदा समस्या भएको बताउनु भयो । स्थानिय शिक्षिका कुविजा पोखरेलले शिक्षा र जनचेतनाको अभाव कायम रहे सफलता प्राप्त नहुने बताउनु भयो । स्थानिय मथुरा ढकालले दलित भित्र नै भेदभाव भएको बताउँदै परिवर्तन दलित भित्र बाटै हुनु पर्नेमा जोड दिनु भयो ।

पहिलो चरण अन्तरगत यसरी समस्याउपर छलफल भइसकेपछि समाधान के हुन सक्छ त भनी दोस्रो चरणमा भएको छलफलमा सहभागीहरुले विभिन्नखाले राय व्यक्त गरे । सर्मिला क्षेत्रीका अनुसार दलित महिला किन पछि परियो भनी आफैँ भित्र उत्तर खोज्नु पर्छ । साथै आफैले आफैलाई सानो सोच्नु हुन्न । सरस्वती भूषालले आफू क्रियाशील हुदैँ समस्या प्रकट गर्न सक्षम हुनु पर्ने बताउनु भयो साथै मेरो भूमिका के हुन सक्छ भनी सोच्नु पर्नेमा जोड दिनु भयो ।

कमला वि.क. का अनुसार दलितका कुरा प्राथमिकताका साथ सुनुवाई हुने वातावरण मिलाउँदै यस्ता अन्य धेरै छलफल हुनु पर्ने बताउनु भयो । यसै गरी शशीधर वि.क.ले दलित लक्षित कार्यक्रम दलित बस्तीमा नै हुनु पर्नेमा जोड दिनुहँदै बजारमा हुने छलफलले निकास नदिने बताउनु भयो । चन्द्र बहादुर वि.क.ले दलित सँग काम गर्ने निकायहरुबिच समन्वय र एकता भएर काम हुनु पर्ने बताउनु भयो । स्थानीय विद्यालयका प्रधानाध्यापक कृष्णलाल न्यौपानेले संकुचित भावना हटाउँदै समस्या समाधानका लागि आफू नै अग्रसर हुनु पर्ने बताउनु भयो । कुविजा पोखरेलले समस्या समाधानका लागी प्रशिक्षण, नाटक, समावेशी कार्यक्रम उपयुक्त हुने बताउनु भयो । रमा घतानेले घरको काममा मात्र सिमीत नभइ घर बाहिर सक्रिय हुनु पर्नेमा जोड दिनु भयो । प्रभानन्द तिवारीले समावेशी सहभागिता सँगै क्षमताको आधारमा अवसर दिनु पर्ने बताउनु भयो । विद्यालयका पूर्व शिक्षक टिकाराम पौडेलले रुढीवादी परम्पराको अन्त्य सँगै विभेद अन्त्य भएमा सभ्य समाजको निमार्ण हुने बताउनु भयो । नारायण प्रसाद पौडेलले भेदभाव जातीय नभइ वर्गको समस्या भएको भन्दै धनी र गरीबको खाडल गर्न लाग्नु पर्नेमा जोड दिदै अवसर लिने र दिने कामको सुरुवात हुनु पर्ने बताउनु भयो ।

कार्यक्रमको उत्तरार्धमा सो कचहरीमा उठेका समस्याहरुको पहिचान पश्चात तीनको न्यूनिकरण एवं निवारणमा सबैजना सक्रिय रहने प्रतिवद्धतापत्र जारी भई सहभागीहरुले हस्ताक्षर गरेका थिए । कचहरीको सामुदायिक रेडियो माडीले प्रतक्ष्य प्रसारण गरेको थियो ।