सामुदायिक रेडियो माडीको अगुवाइमा संरक्षण रेडियो नेटवर्क गठन

green radio network

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा हुने मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ६ जिल्लाका रेडियोबीच नेटवर्क बनाइएको छ । निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षको प्रभाव वा मध्यवर्ती क्षेत्रमा पर्ने भित्र पर्ने प्रसारण संस्थाको नेटवर्क गठन भएको हो ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडीको अगुवाइमा चितवन, नवलपरासी, बारा, मकवानपुर, रौतहट र पर्सा जिल्लाका २० वटा रेडियोको संलग्नतामा नेटवर्क गठन गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनले जनाएको छ । नेटवर्कमा संलग्न अन्य रेडियोमा हाल पर्सा जिल्लाको रेडियो नारायणी र रेडियो विजयवस्ती, बारा जिल्लाको रेडियो समर्पण र रेडियो आकाशवाणी, मकवानपुरको रेडियो शक्ति, नवलपरासीको रेडियो मध्यबिन्दु, ह्याप्पी एफएम, रेडियो सामर्थ्र्य, रेडियो नवलपुर र विजय एफएम तथा चितवन जिल्लाका कालिका एफएम, रेडियो त्रिवेणी, हाम्रो एफएम, रेडियो शिवशक्ति, रेडियो सम्पदा, रेडियो अर्पण र ग्रेट एफ.एम. संलग्न छन् ।

सो नेटवर्कले निकुञ्ज र आरक्षका मध्यवर्ती क्षेत्रका मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यू्नीकरण गर्ने विश्वास छ । यहाँको जैविक विविधता संरक्षण र वन एवम् वनपैदावरको संरक्षणका निम्ति रेडियो कार्यक्रम उत्पादन तथा सूचना एवम् समाचार प्रसारण गरेर द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने छ । नेटवर्कमा संलग्न प्रसारण संस्थासँग राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षले सहकार्य गर्ने जनाएको छ ।