बुट्वलमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने वडासचिव सहित ३ पक्राउ

0

बुटवल । बोक्सीको आरोप लगाउँदै छिमेकी महिलालाई दुर्व्यवहार गरेको अभियोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा सचिव टिकाराम आचार्य पक्राउ परेका छन् ।
सचिव आचार्य सहित उनकी पत्नी कमला आचार्य र छोरी प्रतिज्ञा आचार्य खनाल समेत पक्राउ परेका छन् । आरोपितकी छिमेकी तिलोत्तमा–४ की डम्बरकुमारी न्यौपानेले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको उजुरी गरेपछि सचिवसँगै उनकी पत्नी र छोरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए ।
घटना अनुसार आचार्यकी छोरी प्रतिज्ञा केही दिनदेखि बिरामी थिइन् । बुधबार दिउँसो छोरी बिरामी भएकाले हेर्न भन्दै वडा सचिव आचार्यले छिमेकी न्यौपानेलाई बोलाएका थिए ।
न्यौपाने घरभित्र पस्नासाथ छोरी प्रतिज्ञाले मलाई बिरामी गराउने बोक्सी यही हो भन्दै झम्टिएकी थिइन् । छोरीले आक्रमण गरेपछि आमा कमलाले उक्साउदै उनलाई दुर्व्यवहार गर्न सहयोग गरेकी थिइन् । आमाछोरी मिलेर दुर्व्यवहार गर्दा वडा सचिवले कुनै प्रतिकार गरेनन् ।
यसपछि डम्बरकुमारी सहित छिमेकी उनीहरु विरुद्ध न्यायका लागि संगठित भएका थिए । बिहीबार वडा प्रहरी कार्यालयमा मौखिक उजुरी लिएर आएका उनीहरुलाई सुरुवातमा प्रहरीले मिलाउन प्रयास गरेको थियो ।
पीडितले बोक्सी आरोपमा मेलमिलाप नगरी न्यायका लागि लड्ने बताएपछि शुक्रबार इलाका प्रहरी कार्यालयले बोक्सी विरुद्धको मुद्दा दर्ता गर्दै आरोपितलाई पक्राउ गरेको थियो । आरोपितलाई आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी मल्लले बताए ।

Leave A Reply

Your email address will not be published.