सुर्खेतका वादी महिला विभेदमा

0

९ मंसिर २०७५, आईतवार

वीरेन्द्रनगर । सुर्खेत गुर्भाकोटका पुतली वादी दाउरा बेचेर गुजरा चलाउँछिन् । कहिले उनी भारत गएर कमाएर ल्याउछिन् ।

‘साँझ बिहान दुःख गरेर काम गर्छांै तर हामीलाई फरक पेसा गर्ने दृष्टिकोणले हेर्दछन् ।’ वादी समुदायमा पुख्र्यौंली पेसा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिए तापनि अझैसम्म आफूहरूमाथिको समाजको हेराई फरक भएको छैन’, उनले भने ।

‘हाम्रो जातमा पहिले केही व्यक्तिले यो पेशा गरे होलान तर, अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ’, उनले भनिन्, ‘अन्य जातकाले यौन पसशा गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन्, तर हामी पेशा नगरे पनि आरोप लगाइएको छ ।’

सुर्खेत गुर्भाकोट नगरपालिकाकी कविता वादी दिल्लीमा जान थालेको चार वर्ष भयो । धेरैजसो समय उनले भारतको दिल्लीमा बिताउँछिन् भने केही दिन मात्र घरमा आएर बस्छिन् । कारण हो, समुदायमा आफूहरूमाथि हुने गरेको विभेद । छ वर्षअघि माथिललो जातिसँग विवाह भएका कारण श्रीमानबाट दिएको यातना सहन नसकेपछि उनको वैवाहिक सम्बन्ध अन्ततः डिभोर्समा परिणत भयो ।

अहिले उनी छोराका साथमा दिल्लीमा बस्दै आएकी छन् । ‘गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिनँ’, कविता भन्छिन्, ‘छिमेकी र समाजले हाम्रो जात भन्नेबित्तिकै फरक नजरले हेर्दछन । समाजमा अन्य जातिका व्यक्ति आफूहरूसँग घुलमिल हुन नचाहने गरेको दुःखेसो उनले पोखिन् । ‘समाजमा हामीप्रति अझै पनि राम्रो नजरले हेरिँदैन, त्यसैले हाम्रा धेरै साथीहरू गाउँमा बस्न रुचाउँदैनन्’, उनले भनिन्,‘धेरै साथी दिल्लीमा बस्ने गर्दछन ।’

सोही वादी बस्तीका ५६ वर्षीया बकुला वादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जिविका चलाउँदै आएकी छन् । तर समाजले आफूहरूमाथि गरेको विभेद देख्दा उनको मन कुडिन्छ । ‘दिनभरि काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु’, उनी भन्छिन्, ‘हाम्रा छोरी चेलीमाथि अरु जातिले गर्ने व्यवहार फरक हुन्छ ।’

फरक नजरले हेर्ने कारणले आफ्ना छोरी नातिनी भारततर्फ जाने रुचि गरेको उनी बताउछिन् । जिल्लामा बसोबास गर्दै आएका वादी समुदायका महिलाले भोगेको साझा समस्या हो, यो ।

विगतका दिनमा वादी समुदायका पुरुष मादल बनाउने र माछा मार्ने तथा छोरी यौन पेशालाई अपनाउने तर, अहिले परिस्थित बेग्लै भएको छ । उनीहरूले पुख्र्यौली पेशालाई छाडेर कृषि र व्यवसाय गर्दै आएका छन् ।

पहिलेको तुलनामा हाम्रो जातिमाथि गर्ने विभेदको केही कमी भए पनि अझै पनि आफूहरूप्रति हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती वादी बताउँछिन् । वादी महिलाको पुख्र्यौली पेशा अहिले परिवर्तन भए तापनि पुरानै छाप अझै नहट्नु दुःखद रहेको महिला अधिकारकर्मी किमशरा खत्री बताउँछिन् ।

‘पहिलेको भन्दा अहिले अन्य जाति पनि उनीहरूसँग घुलमिल हुँदै आउन थालेका छन’, उनी भन्छिन्, ‘विस्तारै यसमा पनि परिवर्तन हुँदै जान्छ ।’ वादी महिलाले यस्ता खालका हिंसा भोग्नु भनेको पहुँच भएका वर्गबाट उनीहरूलाई हेप्नु हो’, शिक्षक सरुणी वलीको भनाइ छ । ‘यस्ता खालका व्यवहारले उनीहरूमाथि भएको विभेद झल्काउँछ’, उनी भन्छिन्, ‘जसले गर्दा उनीहरूको मनोविज्ञानमा चोट पुर्याउँछ ।’

वादी अगुवा एवं सिम्ता गाउँपालिका वडा–६ का वडा सदस्य सुक्री वादीले वादी जातिलाई अझै पनि हेप्ने प्रवृत्ति रहेको बताउछिन् । ‘जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन’, उनले भनिन्, ‘यसको अन्त्यका लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ ।’
नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था गरेको छ ।

तर वादी महिलामाथि हुने यस्ताखालका विभेदले उनीहरूको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन भएको देखिन्छ । वादी महिलामाथि भएका यस्ता खालका विभेदले उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुका साथै उनीहरूमाथि जातीय विभेद भएको देखिएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् ।

नेपाली जनताबाट साभार!

Leave A Reply

Your email address will not be published.