पर्खाल नभत्काउनु ,
तिम्रो र मेरो दुरी यदि छोटियो भने
हाम्रो सम्बन्धको दुर्घटना हुन सक्छ…
पर्खाल नभत्काउनु ,
पर्खालकै कापाबाट लुकीलुकी
तिमिलाइ हेर्दा
जुधेका नजरहरुका तरङ्ग
कहाँ भेटिन्छ्न्,
आमुन्ने सामुन्ने बसेर एक अर्कालाई हेर्दा…
पर्खाल नभत्काउनु ,
मनका भावनाहरु रङपोत गरेर
कागजको हवाइजहाज उडाइ
पर्खाल नघाउदाको खुशी
कहाँ मिल्छ ,
आमुन्ने सामुन्ने बसेर एक अर्कालाइ सुन्दा…
पर्खाल नभत्काउनु ,
तिम्रो हातमा हात समाएर
त्यो क्षितिजसम्म हिडेको
कल्पना गर्दाको उत्सुकता
कहाँ हुन्छ ,
आमुन्ने सामुन्ने बसेर तिम्रो हात खेलाउदा …
पर्खाल नभत्काउनु,
तिमीले भुई छुने कपाल फिजार्दा
फिजारिने तिम्रो सौन्दर्यको मादकत
मेरो धड्कन सम्मै आएर ठोकिए जस्तो
कहाँ हुन्छ ,
आमुन्ने सामुन्ने बसेर तिम्रो कपाल चलाउदा ..
पर्खाल नभत्काउनु,
तिम्रो तस्बिर हेर्दै
तिम्रा कलेटी परेका ओठ
चुम्नुको मज्जा
कहाँ हुन्छ ,
आमुन्ने सानुन्ने बसेर तिमिलाइ छुन खोज्दा …
त्यसैले फेरि भन्दैछु प्रिया
पर्खाल नभत्काउनु
तिम्रो र मेरो दुरी यदि छोटियो भने
हाम्रो सम्बन्धको दुर्घटना हुन सक्छ ……..
@ए.पी. सुमन