दाहालको प्राथमिकतामा माडी

0

चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका पुष्पकमल दाहालको विकास बजेट माडीकेन्द्रित रहेको बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो ।

स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमबापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो ।

सो क्षेत्रको निर्वाचित सांसद संयोजक हुनेगरी रु चार करोड विकास बजेट जिल्ला समन्वय समितिमार्फत् निकासा हुने गर्दछ ।

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि रु एक करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकाका २० ओटा वडाका लागि रु दुई करोड २७ लाख बजेट विनियोजन भएको छ । माडीमा ९ ओटा वडा रहेका छन् ।

माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ ओटा वडा छन् । ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता रहेका छन् । जसमध्ये ६६ प्रतिशत हाराहारी क्षेत्र नम्बर–३ मा पर्दछ ।

दाहालले माडीमा सडक, कल्भर्ड, पुल, पार्क, विद्यालयलगायतका पूर्वाधारमा बजेट विनियोजन गरेका छन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनसंख्याको तुलनामा दाहालको प्राथमिकता माडी क्षेत्रमा परेको बताए ।

जुन क्षेत्र विकासका दृष्टिले पछाडि परेको छ, त्यसलाई नै प्राथमिकतामा अध्यक्ष दाहालले पारेको उनले बताए ।

सशस्त्र द्वन्द्वमा माडीको बाँदरमुढेमा भएको घटनाका कारण दाहालले निर्वाचनको समयमा आलोचना खेप्नुपरेको थियो । अहिले विकास बजेटमा प्राथमिकतामा परेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले दाहालले बजेट बाँडफाँटमा माडीलाई प्राथमिकतामा राखेको बताए ।

Leave A Reply

Your email address will not be published.